एकैपटक चार सन्तान जन्माउने दम्पत्तीको रोदन : मुटु बेच्न मिल्ने भए बेचेर सन्तान बचाउँथ्यौं

गुल्मी-हरेक दम्पतीले बुनेकै हुन्छन् सन्ततीको सपना । तर सन्तान प्राप्ति सधैँ सुखकर घटना बनेर आउँदैन । गुल्मी, जैसीथोक–२, रातापोखराका गीता–जनक कुवँर दम्पती पनि सन्तान प्राप्तिपछिको विपत्तीले कहालिएका छन् । 4 
अस्वाभाविक पेट र दुखाइका कारण १६ मंसीरमा लुम्बिनी मेडिकल, पाल्पाप्रभासमा भर्ना भएकी जनकपत्नी गीताको ३० पुसमा अप्रेशन गरेर चार सन्तान निकालियो । उनीहरूको तौल कम थियो, त्यसैले आइसियू कक्षमा राखियो । दम्पतीका अनुसार उनीहरूको उपचारका लागि अहिलेसम्ममा झण्डै ५ लाखभन्दा बढी खर्च भइसकेको अस्पतालको रेकर्ड छ । अझै पनि उनीहरू पूर्ण स्वस्थ हालतमा छैनन्, त्यसैले कति लाग्ने हो थाहा छैन ।
एकैपटक चार सन्तान जन्माउँदा खुसी र पीर एकैपटक जन्मिएजस्तो भयो कुवँर दम्पतीलाई । एकैपटक चार सन्तान जन्माउने दुर्लभ घटनाबारे चर्चा पनि भयो । जनक भन्छन्, ‘खबर सुनेर पाल्पाका सिडिओ, एलडिओदेखि पत्रकार पनि आए । तर तिनलाई कसरी बचाउने भन्ने चिन्ताबारे कसैले चासो राखेनन् ।’ उनी आफ्ना सन्तान प्रचारमा आएको होइन, बाँचेको हेर्न चाहन्छन् । त्यसैको लागि भौंतारिइरहेका छन् । तर अस्पतालमा लाग्ने खर्चले कहालिएका छन् । उनले भक्कानिँदै भने, ‘यिनीहरूलाई बचाउन हामी आँखा र मुटु नै बेच्न पनि तयार छौं ।’
चार सन्तानकी आमा गीताका अनुसार सुरुमा कुवँर दम्पती सरकारी अस्पताल तम्घासको शरणमा पुगेका थिए । तर त्यस अस्पतालमा डाक्टर नभएको भन्दै निजी अस्पताल रेसुङ्गामा पठाइएको थियो । त्यस अस्पतालले चार वटा सन्तान रहेको भन्दै प्रसुती सेवाका लागि लुम्बिनी मेडिकल कलेज पठायो । 
जनकको दुखेसो छ– अस्पतालमा खर्च भएको रकम तिर्न आफ्नो भागमा पर्ने अंशले पुग्दैन । भाइको ऋण देखेपछि दाजु पनि छुट्टिने सुुरमा रहेको बताउँदै उनले दुखेसो पोखे, ‘मैले बुबाबाट पाउने सम्पत्तीबराबरको खर्च गरीसकेँ । अब त केही उपाय छैन ।’
चार सन्तानमध्ये कान्छोको दायाँ आँखामा पीप जमेपछि अपतालले रणअम्बिका आँखा अस्पताल, भैरहवा पठायो । ‘त्यहाँबाट काठमाण्डौं लैजान भनेको छ’, जनकले आँसु झार्दै भने, ‘मसँग न जाने खर्च छ, न त्यहाँ मेरो आफ्नो कोही छ । कसरी जाउँ ?’
त्यसो त चार बच्चा जन्मिएछन् भनेर हेर्न आउनेलाई उनीहरूले सहयोगको लागि हात नफैलाएका पनि होइनन् । तर कसैले सहयोग नगरेको गीताको गुनासो छ । ‘हामीले बच्चा–बच्ची हेर्न आउने सबैलाई सहयोगका लागि जम्ले हात गर्यौं, तर कोही पनि सहयोगका लागि तयार भएनन् । कसैले सहयोग गरे मेरो आत्माले आशिष दिनेथियो ।’ उनले भनिन् । डाक्टरले उनीहरूर्लाइ अब सन्तान नहुने भनेका छन् । ‘भोलीसम्म काठमाण्डौ लैजान भनेका छन् तर खर्च छैन कसरी लैजाउँ ?’ गीता भन्छिन्, ‘हाम्रो पीडा कसले सुनिदेला ? बेड चार्जमात्रै छुट भए पनि अलि राहत हुन्थ्यो । अस्पतालले पनि हाम्रो कुरा सुनेको छैन ।’
गाउँमा खेतीकिसानी गरेर गुजारा चलाउादै आएका कुवँर दम्पती सरकार वा उदार हृदयका सहयोगीको खोजीमा भौंतारिरहेका छन् ।

(नोट : जनकको नम्बर ९८४७८९८४१४ हो । सरोकारवाला निकाय वा सहयोगीले सम्पर्क गर्न सक्नुहुनेछ ।)

, ,

0 comments

Write Down Your Responses