संसदीय दलको नेतामा देउवासँग टक्कर दिन पार्टीकै एक जना प्रभावशाली नेता तयारी

भर्खरै सम्पन्न १३ औं महाधिवशेनबाट नेपाली कांग्रेसको सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई टक्कर दिन पार्टीकै एक जना प्रभावशाली नेता तयार भएका छन् । महाधिवेशनपछि संसदीय दलको नेता छान्ने तरखरमा रहेको कांग्रेसमा देउवासँग भिडेर दुई पटक पराजित भएका रामचन्द्र पौडेल भने पछि हटेका छन् । पौडेलको ठाउँमा निर्वाचित केन्द्रीय सदस्य एवं निवर्तमान महामन्त्री प्रकाशमान सिंहले देउवालाई टक्कर दिन मैदानमा उत्रिने तयारी गरेका हुन् । गणेशमान पुत्र सिंह आगामी २४ गते हुने संसदीय दलको निर्वाचनमा देउवासँग भिड्न तयार भएको कांग्रेस स्रोतले जनाएको छ । सभापतिमा हारेका रामचन्द्र पौडेललाई सर्वसम्मत संसदीय दलको नेता बनाउन गरेको प्रस्ताव देउवाले अस्वीकार गरेपछि सिंह अघि बढ्न लागेका हुन् । स्रोतका अनुसार सोमबार पौडेल निवास बोहोराटारमा बसेको बैठकले प्रकाशमान सिंहलाई संसदीय दलको नेतामा चुनाव लडाउने गरी छलफल भएको र देउवाबिरुद्ध चुनावी मैदानमा आउने लगभग तय भएको छ । देउवासँग दुईपटक पराजित भएका पौडेललाई संसदीय दलको नेतामा चुनाव नलड्न उनी निकटका नेताहरुले सुझाव दिएपछि पौडेल पछि हटेका छन् । बहुमत देउवाको पक्षमा, असन्तुष्ट फकाउँदै पौडेल समूह संसदीय दलमा देउवासँग भिड्न तयार भएपनि प्रकाशमान सिंहसँग बहुमत भने अहिले देखिँदैन् । देउवाभन्दा पौडेल समूह कमजोर छ । जसका कारण देउवालाई जित्न त्यती सजिलो छैन् । तर कांग्रेसभित्र ठूलो प्रभाव पार्ने नेता खुमबहादुर खडका र कुलबहादुर गुरुङ अहिले सभापति देउवासँग असन्तुष्ट छन् । महाधिबेशन अगाडि गरेको (गुरुङलाई वरिष्ठ नेता, खडकालाई उपसभापति दिने) बाचा देउवाले पुरा नगरी वास्ता नै गर्न छाडेपछि असन्तुष्ट बनेका यी दुई नेतालाई पौडेल समूहले फकाउने प्रयास गरिरहेका छन् । यी दुई नेताले पौडेल समूहलाई सहयोग गरे सिंह संसदीय दलको नेता बन्न सक्छन् । स्रोत : दैनिक नेपाल

,

0 comments

Write Down Your Responses