कार्यक्रमको नाममा मानव तस्करी, नेपालबाट यसरी दुबई पुगे ६ युवती’

साँस्कृतिक कार्यक्रमको बाहानामा दलालहरुले मोटो रकम लिएर युएई पुर्याईएका भनिएका ६ युवती मध्ये २ युवती आज अबुधाबी स्थित नेपाली दुताबासमा उपस्थित भएका छन् । उपस्थित युवतीहरुले राजदूत धनन्जय झाको उपस्थितीमा गत फेब्रुवरी १२ मा सम्पन्न भ्यालेन्टाइन नाइट्स कार्यक्रमको लागि आफुले दलाललाई ३ लाख रकम दिएर युएई आएको बयान दिएका छन् । रातोपाटीमा गत चैत्र ९ गते ‘साँस्कृतिक कार्यक्रमको नाममा मानव तस्करी, नेपालबाट यसरी दुबई पुगे ६ युवती’ शिर्षकमा समाचार छापिए पश्चात दुताबासले बिशेष चासो राखेर छानबिन गरिरहेको छ । छानबिनको क्रममा ती युवतीहरु दुताबासको सम्पर्कमा आएका थिए । युवतीहरुले नेपालमा रहेको इभेन्ट अर्गनाइजर गृश्मा इन्टरटेनमेन्टका प्रतिनिधिहरुले एअरपोर्ट सम्म पुर्याइदिएको बताएका छन् । कलाकार बनेर युएई आएका मध्ये १ युवतीले भने आफुलाई पहिले एक पल्ट त्रिभुवन अन्तराष्ट्रिय एअरपोर्टको अध्यागमनले फर्काएकोले दोश्रो पटक कार्यक्रमका आयोजकलाई १ लाख ५० हजार तिरेर डान्सर बनेर युएई आएको बताएकी छन् । उनीहरुले पैसाको कारोबार युएई आए पश्चात काम लगाइदिने शर्तमा नेपालमा नै रहेका एजेन्ट पूर्ण लामा मार्फत गरेको समेत बताएका छन् । उक्त कुराको खुलासा भएपछि आयोजकले युवतीहरुलाई १० हजार रुपैयाँ मात्र लिएको भनी कागजमा ल्याप्चे लगाएको जानकारी समेत युवतीहरुले बयानमा दिएका छन् । आयोजकले पनि पैसा लिएर ६ युवतीलाई कलाकार बनाएर ल्याएको स्विकार गरेको बुझिएको छ । यसअघि कार्यक्रम आयोजककातर्फबाट महेश गिरी र समिम खानले बिज्ञप्ती मार्फत उक्त कार्यमा आफ्नो संलग्नता नरहेको दाबी गरेका थिए । दुबै जना एमाले निकट प्रबासी संगठन प्रबासी मंचमा आबद्द रहेका छन् । कार्यक्रम क्रिएटिभ युथ ग्रुपले आयोजना गरे पनि एमाले निकट संगठन प्रबासी मंचका गिरी र खानले अबुधाबी स्थित दुताबासबाट १० जना कलाकार ल्याउन अनुमती लिएका थिए । १० जना मध्ये ४ जना मुख्य कलाकारहरु नेपाल फर्के पनि अन्य ६ जना भने कामको खोजीमा यही छन् । एक जना युवतीको भने भिसाको अवधी सकिएर गैर कानुनी रुपमा युएईमा रहेकी छन् ।गैर आबासिय नेपाली संघ, युएईले मानब ओसार प्रसारमा संलग्न ब्यक्तीहरुलाई कारबाही गर्न माग गर्दै दुताबासमा निबेदन बुझाएको छ भने उपस्थित युवतीहरुले समेत किटानी जारी सहित आयोजक उपर कारबाही गर्न निबेदन दिएका छन् । यसैबीच प्रबासी मंचले आफ्नो संलग्नता अस्विकार गरेको छ । युवती स्वयम दुताबासमा उपस्थित भए पछी मञ्च आफ्नो संलग्नता स्वीकार गर्न बाध्य भएको हो । यसअघि महासचिब उत्तम अधिकारीले एक विज्ञप्ती जारी गर्दै समाचारलाई आधारहीन भएको भन्दै ढाकछोपको प्रयास गरेका थिए । 
स्रोत : रातो पाटि . कम 

,

0 comments

Write Down Your Responses