कोइरालाहरु यसरी मालामाल
नेपाली काँग्रेसको १३ औँ महाधिवेशन झण्डै १० दिनपछि राजधानीमा सकिएको छ । महाधिवेशनले नेपाली काँग्रेसमा अधिकांश पुराना अनुहारलाई नै नेतृत्वमा ल्याएको छ । यो महाधिवेशनले सबैभन्दा बढी हानी रामचन्द्र पौडेल र उनकै टिमलाई भयो । उनको टिम अलोकप्रियमात्रै साबित भएन, आफूलाई ‘किङमेकर’ ठान्नेहरु पनि नराम्रोसँग चिप्लिएका छन् । काँग्रेस उपसभापति बनेका र अघिल्लोपटक सुशील कोइरालालाई समर्थन गरेका कारण रामचन्द्र पौडेलले सभापति बन्ने इच्छा व्यक्त गर्नु अस्वभाविक थिएन । तर, शेरबहादुर देउवासँग पटक्कै मिल्न नदिने केही पात्रहरुको यतिबेला बिल्ली बाँठ भएको छ । बाबुको राजनीतिको ब्याजमा नेता बनेका प्रकाशमान सिंहदेखि अमेरिकामा टपक्कै टिपेर ल्याइएका डा. रामशरण महत र डा. मिनेन्द्र रिजालहरुको हैसियत यो महाधिवेशनले प्रष्टै पारिदिएको छ । आफूलाई पौडेल गुटको सबैभन्दा सशक्त ठान्ने प्रकाशमानले मतका आधारमा तेस्रो नम्बरमा मात्रै रहे । झन् रामशरण र मिनेन्द्र त टप १० मा पनि परेनन् । रामशरण १६औँ नम्बर र मिनेन्द्र बल्लबल्ल २५ नम्बरमा पर्न सके ।
सुरुमा सभापति नै लड्ने दाबी गर्दै आएका प्रकाशमान सिंहले उपसभापतिमा र रामशरणले महामन्त्रीमा बाग्रेनिङ गरेर छाडेका थिए । तर, पौडेल पराजित भएपछि उनीहरु दुवैको भूमिका केन्द्रीय सदस्यमै सीमित हुने देखिएको छ । किनकी उनीहरुको टिम यति अलोकप्रिय भयो कि बहुमत केन्द्रीय सदस्य देउवाकै आए । जसले देउवालाई पार्टी चलाउन सहजता मिलेको छ ।
स्रोतका अनुसार, प्रकाशमान सिंह र रामशरण महतकै कारण अर्जुननरसिंह केसी संस्थापन छाडेर देउवा क्याम्पमा पुगेका थिए । संस्थापनमै रहे आफूले भाग नपाउनेपछि प्रकाशमान र रामशरण समूहले केसीलाई संस्थापनबाट लेखेटेको थियो । संस्थापन छाडेर गएका केसीलाई देउवाका विश्वासपात्रहरु झन् रुचाउने कुरै भएन । आफ्नो भाग खोस्न आएको भन्दै बिमलेन्द्र निधिहरुले असफल गरेपछि अर्जुननरसिंह केसीले हार्नुपरेको छ ।
कोइरालाहरुलाई नाफा
यो महाधिवेशनले सबैभन्दा बढी फाइदा भने कोइरालाहरुलाई नै पुगेको छ । विपीपुत्र शशांक कोइराला महामन्त्रीमा विजयी भएका छन् । डा. शेखर कोइराला खुल्ला केन्द्रीय सदस्यमा पहिलो नम्बरमै विजयी भए । गिरिजाप्रसादकी पुत्री सुजाता कोइराला पनि १५ औँ नम्बरमा निर्वाचित भइन् । सुशील कोइरालाका भाइ अशोक कोइराला र सुशीललाई सहयोग गर्न नेपाल आएकी मृदुला कोइरालाले भने हारे । भलै यो महाधिवेशनले आगामी दिनहरुमा पनि काँग्रेसभित्र कोइरालाहरुको नेतृत्व स्थापित गर्ने महत्वपूर्ण अवसर जुराइदिएको छ । रामचन्द्र पौडेलले शंशाक कोइरालालाई च्यापे पनि कोइरालाहरुले भने पौडेललाई साथ नदिएको काँग्रेस वृत्तमा चर्चाको विषय बनेको छ । स्रोत : दैनिक नेपाल

0 comments
Write Down Your Responses