कार्यालयभित्रै हाकिमलाई यसरी लगाइयो कालोमोसो
जलउत्पन्न प्रकोप नियन्त्रण १८ नम्वर डिभिजन कार्यालय लमही, दाङका प्रमुख वेदानन्द उपाध्यायलाई कालोमोसो दलेको छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी निकट अखिल नेपाल किसान संघ क्रान्तिकारी दाङले उपाध्यायले भ्रष्टाचार गरेको आरोपमा कालोमोसो लगाउनुका साथै छ्यापेको जनाएको छ । वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रेमबहादुर खड्काका अनुसार ४/५ जनाको समूहमा पुगेका ब्यक्तिले कार्यालय प्रमुख उपाध्यायमाथि कालोमोसो छ्यापेको पुष्टि गर्नुभएको छ ।
प्रहरी तत्कालै जलउत्पन्न प्रकोप कार्यालयमा पुगेको र कालोमोसो दल्न पुगेका माओवादीका कार्यकर्ताहरू कालोमोसो छ्यापेर भागेको प्रहरीले बताएको छ । ‘४/५ जनाको समूहमा पुगेका ब्यक्तिले कार्यालय प्रमुखमाथि कालोमोसो छ्यापेको पाइयो, प्रहरी तत्कालै कार्यालयमा पुगेपछि उनीहरूले लगेको कालोमोसो भरेको डिब्बा पनि हामीले बरामद गरेका छौं,’ प्रहरी प्रमुख खड्काले भन्नुभयो, ‘घटनाको अनुसन्धान गरिरहेका छौं ।’
किसान संघ क्रान्तिकारीका कार्यकर्ताहरूले मंगलबार कार्यालय मै पुगेर उपाध्यायलाई भ्रष्टाचार गरेको आरोपमा कालोमासे दलेको विज्ञप्ति निकालेर स्वीकार गरेका छन् । नीतिगत रुपमा उपभोक्ता समितिमार्फत गरिनुपर्ने कामलाई लाखौ रुपैयाँ कमिसन लिएर ठेकेदारमार्फत काम गराएको संघको आरोप छ ।
कमिसनको खेलमा गुणस्तरीय काम नहुँदा उपभोक्ताहरू ठगिएको र कार्यालय प्रमुख उपाध्यायले विभिन्न कार्यक्रमबाट कमिसन लिएको संघको बिज्ञप्तिमा उल्लेख छ ।
स्रोत : दैनिक नेपाल

0 comments
Write Down Your Responses