निवासबाट नेताहरु यसरी टाप
नेपाली कांग्रेसको १३ औं महाधिवेशनको मिति नजिकिदै जाँदा नेताहरुबीच मारामार हुन थालेको छ । खासगरी वरिष्ठ नेता शेरबहादुर देउवा र संस्थापनपक्षबीच नेतृत्वका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ । तर, संस्थापनमा सभापति सुशील कोइरालाको निधनपछि भाडभैलो मच्चिएको छ । सबैले सभापति पद नै ताक्न थालेका छन् । जसका कारण देउवा भन्दा संस्थापनमा नेताहरुबीच मारामार हुन थालेको छ । संस्थापनबाट सभापतिका प्रमुख उम्मेदवार रामचन्द्र पौडेललाई अहिले नेताहरु फकाउन भ्याइनभ्याइ भएको छ । यसैक्रममा सभापतिमा उठ्छु भनेर आडो हालिरहेका महामन्त्री कृष्णप्रसाद सिटौलालाई फकाउने प्रयासमा कार्यबाहक सभापति पौडेल लागेका छन् । संस्थापन पक्षबाट एक्लो उम्मेदवार बन्न पौडेलले शुक्रबार कांग्रेस नेता तथा पूर्वमन्त्री रामशरण महतको घरमा प्रभावशाली नेताहरुको जमघट गराए । आफ्ना प्यानलका नेताहरुको पदको बाँडफाँट पनि गराए । तर कांग्रेसभित्र प्रभाव राख्ने महामन्त्री कृष्णप्रसाद सिटौला र गगन थापालाई समेटेर कुनै तालिका बनेन । त्यसपछि पौडेलले महतको घरबाट शेखर कोइराला, दिलेन्द्रप्रसाद बडु लगायतको टोलीलाई कृष्ण सिटौलाको निवास पठाए । पौडेलको पक्षमा सिटौलालाई मनाउन नेताहरु निवासमा पुगेका थिए । तर सिटौलालाई मनाउने संस्थापन पक्षका नेताहरुको प्रयास शुक्रबार असफल भयो । उल्टै हप्की खाएर निवासबाट टाप कस्नुपर्यो भेटमा ‘संस्थापन पक्षबाट एउटै उम्मेद्धार बनाउनु पर्यो, त्यसमा तपाईको सहयोग आवश्यक छ’ भन्दै महतले सिटौलालाई प्रश्न गरेका थिए । महतको प्रस्तावपछि सिटौलाले संस्थापन पक्षको साझा उम्मेद्धार बनाउने प्रस्ताव मागेका थिए । तर सिटौलालाई भेटन पुगेका नेताहरुले साझा प्रस्ताव दिन सकेनन् । दवाव शैलीमा संस्थापन पक्षका नेताहरु उपस्थित भएपछि सिटौला जंगिएको स्रोतले बतायो । ‘तपाईहरुलाई जे मनलाग्छ गर्नुहोस मेरो उम्मेद्धारी सभापतिमै हुन्छ ।’ सिटौलाले आफ्नो अडान नछाडेपछि पुनः बस्ने भन्दै नेताहरु उठेका थिए । स्रोत : दैनिक नेपाल

0 comments
Write Down Your Responses