सुर्खेतमा एक युवतीले बिहे भएको ६ महिनामै बच्चा जन्मेपछि शिशुको घाँटी थिचेर हत्या

सुर्खेत: सुर्खेतमा एक युवतीले आफैँले जन्माएको नवजात शिशुको घाँटी थिचेर हत्या गरेकी छन् । बिहे गरेको ६ महिना पूरा नहुँदै जन्मेको शिशुको ती युवतीले शिशुको हत्या गरेकी हुन् । शिशु हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।

जिल्लाको काफलकोट गाविस–७ निवासी मैमसरा विकलाई शिशु हत्याको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । १८ वर्षीया विकले यही चैत ८ गते बच्चा जन्माएकी थिइन् ।

मैमसराले गाउँकै युवक सुरेश बिकसँग गत कात्तिक ४ गते प्रेमविवाह गरेकी थिइन् । विवाहपछि मंसिर २१ गते सुरेश मजदुरीका लागि भारत गएका थिए ।

कातिकमा बिवाह भएको ६ महिना पूरा नहुँदै बच्चा जन्मिएपछि मैमसराले शिशुको हत्या गरेको प्रहरीले जनाएको छ । बिहे गरेको ६ महिनामै बच्चा जन्मिएपछि आफन्त र छिमेकीले मैमसरालाई सोधखोज गरेका थिए ।

आफन्त र समाजको दबाबपछि मैमसराले सुरेशसँग बिवाह हुनुभन्दा पहिलै अर्कै पुरुषसँग शारीरिक सम्बन्ध भएर गर्भ रहेको बताएकी थिइन् ।

आफू गर्भवती भएपनि सुरेशसँग प्रेम भएकाले बिवाह गरेको उनले बताएकी छिमेकीले जनाएका छन् । विवाह भएको ६ महिनामै बच्चा जन्मिएर समाजले समेत आलोचना गरेपछि आफूले जन्माएको शिशुलाई सोही दिन घाँटी थिचेर हत्या गरेको बयान मैमसराले प्रहरीलाई दिएकी छन् ।

शिशु हत्याको आरोपमा मैमसरालाई पक्राउ गरेर हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

यसैबीच प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरेर मैमसरालाई नियन्त्रणमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

,

0 comments

Write Down Your Responses