४० वर्षीया सुशीला कक्षा ८ को परीक्षा दिँदै ........हेर्नुहोस ::
पढ्नका लागि उमेर र पेसाले छेक्दैन । जहाँ इच्छा त्यहीँ उपाए भने झैं कोल्मा बराहचौरकी ४० वर्षीया सुशीला श्रेष्ठ विक अहिले कक्षा ८ को जिल्ला स्तरीय परीक्षा दिइरहेकी छन् । बुधबारसम्म उनले ५ वटा परीक्षा दिइसकेकी छन् । कोल्मा गाविसस्थित कोल्मा बराहचौर उच्चमाध्यमिक विद्यालयको कक्षा ८ की नियमित छात्रा हुन् विक ।कक्षा ७ देखि सो विद्यालयमा भर्ना भएकी विक नियमिततर्फका विद्यार्थी हुन् । पति पदमबहादुर विक वैदेशिक रोजगारका लागि खाडी मुलुकमा छन् । दुई छोरीमध्ये एक कक्षा १२ र अर्की ७ मा पढ्दै छन् भने एक छोरा कक्षा २ मा पढ्दैछन् ।
कोल्मा बराहचौर उच्चमाध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहेकी सुशीला विक कोल्मा गाविस ९ वडा बराहखोलाको महिला स्वास्थ्य स्वयंसेविका पनि हुन् । घर, परिवार, समाज, बालबालिका, समाजसेवामा क्रियाशील विकले आफ्ना सबै जिम्मेवारी बिहान बेलुकाको समयमा मिलाएर दिउँसो नियमित विद्यालय जाने गरेको बताउँछिन् ।
सुशीला भन्छिन्, ‘सधैं विद्यालय जाने गरेकी छु, तर काम विशेषले एक दिन जान पाइनँ भने पनि दुःख लाग्छ ।’ उनी विद्यालयमा नियमित आउने र मेहनत गर्ने छात्रा भएको विद्यालयका प्राचार्य मधुकुमार गुरुङले जानकारी दिए ।
पाल्पा माइती भएकी सुशीलाले १७ वर्षअघि पदम विकसँग अन्तर्जातीय प्रेम विवाह गरेकी हुन् । विद्यालय पढ्दै गर्दा प्रेम विवाहपछि रोकिएको पढाइलाई छोराछोरी विद्यालय गएपछि निरन्तरता दिइन् । पढाइलाई निरन्तरता दिने र एसएलसी पास गर्ने चाहना उनको छ ।
घरपरिवार, बालबच्चा, खेतीपाती र सामाजिक सेवामा खटिएर पनि विद्यालय पुगेर नियमित अध्ययन गर्ने सुशीलाजस्ता महिला समाजका लागि उदाहरणीय भएको बताउँछन् कोल्मा निवासी दिलकुमार भुजेल । जुनसुकै उमेरमा पनि अध्ययन गर्न सकिने बताउँदै सुशीलाजस्ता धेरै महिला सुशीला बन्नुपर्नेमा भुजेलले जोड दिए ।
यसैगरी नेपाल प्रहरीमा असई भइसकेका दूतप्रसाद नेपालीले कक्षा ८ को जिल्लास्तरीय परीक्षा दिएका छन् । नेपालीले पनि पनि यही चैत ४ गतेबाट सञ्चालित कक्षा ८ को परीक्षा दिएका हुन् । उनी भने नियमित विद्यार्थी होइनन् । उनको पनि खुल्ला विद्यालयबाट एसएलसी पास गर्ने चाहना छ । ३६ बर्से नेपाली पनि कोल्मा गाविसवासी हुन् । प्रहरी जवानबाट जागिर सुरु गरेका नेपाली हाल पोखरामा असई पदमा कार्यरत रहेको विद्यालयका प्राचार्य मधुकुमार गुरुङले जानकारी दिए ।स्रोत :अन्नपूर्ण पोस्ट

0 comments
Write Down Your Responses